कुहिएको मासु बेच्ने पक्राउ

 १६ आश्विन २०७७, शुक्रबार १०:०६  मा प्रकाशित

धादिङ । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणलाई मध्ये नजर गर्दै धादिङबेसी बजार क्षेत्रमा राँगा, भैसी जताभावी काट्न रोक लगाएको छ ।

सरकारले लामो समय सम्म लकडाउन र निषेधाज्ञा जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा नीलकण्ठ नगरपालिका धादिङले सूचना नै जारी गरी बजार क्षेत्रमा जताभावी पशुहरु काट्न रोक लगाएको थियो ।

आम धादिङबासीहरु तथा नागरिकहरुको मासु खान पाउँनु पर्छ भन्ने विचार अभिव्यक्तीहरु आउन थालेपछि  जथाभावी पशुहरु काट्न रोक लगाउँदै नीलकण्ठ नगरपालिका धादिङले वडा नं. ८ मा आधुनिक पशु बधशाला निर्माण गरेको थियो । नगरपालिकाले स्वच्छ मासु प्रवर्धन गर्न पशु वधशालालाई साझेदारी कार्यक्रम अन्तर्गत २७ लाख अनुदान समेत दिएर सञ्चालमा ल्याएको थियो ।

बिहिबार बिहान नीलकण्ठ नगरपालिका धादिङको अनुदानमा सञ्चालित पशु वधशालाबाटै सडे गलेको मासु बिक्री गरी रहेको अवस्थामा बधशाला सञ्चालकलाई प्रहरी पक्राउ गरेको छ ।

दुर्गन्धित एक सय किलोग्राम राँगाको मासु बिहिबार बिहान धादिङबेसी बजार क्षेत्रमा विक्री वितरण गरिरहेको अबस्थामा पशु बधशालाका सञ्चालक टेकबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय धादिङले बिचबजारबाट पक्राउ गर्न सफल भएको हो । मासु ढुवानी गर्न प्रयोग हुँदै आएको बा ३ ख २९२५ नम्बरको ट्रक समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बजार क्षेत्रका विभिन्न मासु पसलहरूमा वधशालाबाट ल्याइएको मासु झार्ने क्रममा दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बरामद गरेको मासु नीलकण्ठ नगरपालिकालाई बुझाईएको र नगरपालिकाले उक्त मासु खाल्डो खनेर पुरेको छ । मासु बोक्न प्रयोग भएको गाडी र मासु विक्रि वितरण गर्ने पहरेचौताराका ४८ वर्षिय टेक बहादुर गुरुङलाई पक्राउ गरिएको छ ।  चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रमा खुुलेहाम दुर्गन्धित मासु विक्री वितरण गरेको पाइएपछि बजार क्षेत्रका मासु पसलहरुको थप निगरानी गर्न आवश्यक रहेको स्थानीयहरुको भनाई छ । मासु व्यवसायीले चाडपर्वको समयमा विभिन्न थरीको मासुहरु विक्री गर्न सक्ने भन्दै स्थानीयहरुले धादिङबाट सञ्चालित मासु पसलहरुको अनुगमन गर्न आवश्यक रहेको र यदि त्यस्तो मासु विक्री गर्ने व्यापारीहरुलाई तत्काल कारबाहि गर्न पर्ने बताएका छन् ।

कोरोनाको महामारी फैलिरहेको अबस्थामा बजार क्षेत्रमा यस्तो  मासु विक्री वितरण गर्नु भनेको अर्को रोक जिल्ला भित्रयाउनु भएको एक स्थानीयको भनाइ छ ।

१६ आश्विन २०७७, शुक्रबार १०:०६  मा प्रकाशित

Write your Comment