आजबाट १६० वर्षपछि शुभ संयोग परेको मलमास सुरु, के गर्न हुने के नहुने ?

 २ आश्विन २०७७, शुक्रबार १२:४७  मा प्रकाशित

धादिङ्ग । यस वर्षको मलमास अर्थात् अधिकमास अन्य वर्षहरुभन्दा विशेष रहेको छ । आश्विन २ गते शुक्रबारदेखि आश्विन ३० गते शुक्रबारसम्म अधिकमासको समय रहने छ । सुरु पनि शुक्रबारदेखि र अन्त्य पनि शुक्रबारै परेकाले पनि विशेष रुपमा हेरिरहेको छ ।

१६० वर्ष पछि शुभ संयोगमा यस्तो समय जुरेको हो । यस अघि वि.सं. १९१७ साल आश्विन महिनामा पनि यस्तै शुभ संयोगमा मलमास परेको थियो भने अब विं.सं २०९६ सालमा पनि यहीँ समयमा यस्तै मलमास आउने ज्योतिषविद्हरुले जानकारी दिएका छन् ।

अधिकमासमा भगवान् नारायणको पूजा गरिने र अधिकमासमा महात्म्य वा कथा श्रवण गर्ने परम्परा रहिआएको छ । अधिकमास अवधिभर शुभ कर्म तथा साईतहरु नहुने भएकाले कुनैपनि प्रकारका साईत जुराएर गर्नुपर्ने शुभ कर्महरु गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत भएका पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ ।

अधिकमास (मलमास) भनेको के हो ? कस्तो अवस्था भयो भने अधिकमास पर्दछ ?

पञ्चाङ्ग गणना अनुसार अधिकमास हुनका लागि जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यस महिनालाई मलमास ( अधिकमास ) महिना भनेर गणना गरिएको छ । वैदिक नियमअनुसार सूर्यको गतिअनुसार गणना गरिने मास (महिना) लाई सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनेर वर्गीकरण गरिएको छ । सौरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ ।

त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छ । अर्काे चन्द्रमास अनुसार दिन गणना गर्दा ३५४ दिन मात्र हुन आउँदछ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार एक वर्षमा ११ दिन बढी हुन आउँदछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट पुनः अर्को अधिकमास आउँदछ ।

यस क्रमले गणना गर्दा हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास बढि हुन पुग्छ त्यही बढि भएको समयलाई नै अधिकमास अर्थात मलमास भनेर भनिएको हो ।

सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुँदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो । सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुँदैन । यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ । अधिकमास चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ । “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट पनि अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्ने शास्त्रमा उल्लेख गरिएको छ ।

मलमास वा अधिकमास कुनै डरलाग्दो अशुभ समय भने होइन । तिथि, मिति, घडिपला ठीकसँग मिलाउनको लागि मलमासको गणना हुने गरेको छ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट तारिख र वर्षलाई मिलाइएको हुन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चन्द्रमासको गतिमा निर्धारण हुने हुँदा जुन महिनामा पनि पर्न सक्ने ज्योतिषविद्हरु जानकारी दिएका छन् ।

अधिकमास परेको महिनामा के गर्नु हुन्छ ? के गर्नु हुदैन

अधिकमास परेको महिनामा मुहूर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु वर्जित गरिएको छ । शास्त्रीय नियमअनुसार अतिरिक्त समय भएकाले यो समय अन्य समयभन्दा कमजोर हुनेहुदा नयाँ थालनी गरिएका कार्यहरु सफलहुने सम्भावना एकदमै न्युन हुन्छ । यस्तो समयमा श्राद्ध तथा पितृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्री, शतचण्डी लगाएका कुनै पनि काम्मिककर्महरु त्यस्तै गृह, प्रवेश, नयाँ कार्यको थालनी , नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ ।

नवविवाहित दाम्पतीहरूकालागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाँधिएपछि एकपटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदि नबारेमा पतिलाई शारीरिक, मानसिक तथा आर्थिक कष्ट पर्ने मुहूर्तमार्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ । एकपटकबारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताइएको छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगाएता कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ ।

अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारणले यसलाई पुरुषोत्तममास भनर पनि भनिएको छ । पौराणीक कथाअनुसार सूर्य र चन्द्रमा बिचको सन्तुलन मिलाउनका लागि अधिकमासको गणना भएको हो । हरेक महिनाको मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेको महिना या मलमासको नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि ऋषि महर्षी हरुको आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रहपछि यस अतिरिक्त मलमासको मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषोत्तममास भनेर भनिएको हो र विशेषगरी यस अबधिभर भगवन विष्णुको पुजा तथा आरधना गर्ने नियम रहिआएको छ ।

२ आश्विन २०७७, शुक्रबार १२:४७  मा प्रकाशित

Write your Comment