धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
“राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, सबैको लागि खेलकुद” भन्ने मूल नाराको साथ नेत्रावती डवजोङ गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको हो ।
नेत्रावती डबजोङ गाउँपालिकाको आयोजना,शिक्षा युवा तथा खेलकुद शाखा सेमजोङको संयोजन तथा कुण्डलादेवी मा.विको व्यवस्थापनमा नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ कटुञ्जे भोग्टेनी स्थित कुण्डलादेवी मा.विमा प्रतियोगिता आईतबार देखि सुरु भएको कार्यक्रमको उद्घाटन नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यले गर्नुभएको थियो । शाक्यले खेलकुद जगतलाई पहिलो प्राथमिकताका साथ लैजानुपर्ने बताउनु भएको छ । त्यस्तै नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला तामाङ गुरुङले शिक्षालाई जतिकै अतिरिक्त रुपमा खेलकुदलाई पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेत्रावती डबजोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलमान शाक्यले राष्ट्रिय स्तरको खेलाडीहरु विद्यालय स्तर मार्फतनै जाने भएकोले खेलकुदलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै संघिय सरकारबाट प्राप्त सशक्त बजेट मार्फतनै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम गर्न लागिएको नेत्रावती डबजोङ गाउँपालिकाका स्रोतव्यक्ति हेमराज भट्टले बताउनु भयो । प्रतियोगितामा नेत्रावती डबजोङ गाउँपालिका भित्र रहेका ५ वटा माध्यमिक विद्यालयहरु महेन्द्र बाराही मा.वि, कुण्डला मा.वि, चौतारा मा.वि, निरञ्जना मा.वि र मंगलादेवी मा.वि को छात्र/छात्राहरुको छुट्टा–छुट्टै सहभागिता रहेको पौडेलले बताउनु भयो ।
२२ गते सम्म चल्ने प्रतियोगिताभलिबल,कबड्डी, हाईजम्प लङजम्प,सय, ३ सय र ५ सय मिटरको दौड, छेलो लगाएतका खेलहरु खेलाईने गाउँपालिकाका सुचना अधिकारी कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।