प्लास्टिकजन्य प्रदुषण नियन्त्रणको लागि नागरिक सचेतना अभियान धादिङमा

 १६ पुष २०७६, बुधबार १९:४२  मा प्रकाशित

धादिङ – १६ पुष
राजमार्गमा गुड्ने सवारी साधनहरुमार्फत हुने प्लास्टिकजन्य प्रदुषण नियन्त्रणको लागि नागरिक सचेतना अभियान सुरु गरिएको छ ।

बुधबारदेखि अर्चने उपभोक्ता समितिद्धारा पृथ्वी राजमार्ग,कालुपाण्डे मार्ग तथा धादिङ जिल्ला भित्र रहेका गाम्रिण सडक खण्डमा गुड्ने सवारी साधनहरु मार्फत हुने प्लास्टिकजन्य प्रदुषण नियन्त्रणको लागि नागरिक सचेतना अभियान सुरु गरेको हो । “सडक,शहर प्लास्टिकमुक्त बनाऔँ सचेत बनी आजै वातावरण जोगाऔँ” भन्ने मुल नाराको साथ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ को अर्चने उपभोक्ता समितिले नागरिक सचेतना अभियान सुरु गरेको हो ।

सवारी साधनमा यात्रुहरुले प्रयोग गर्ने प्लास्टीकका खोलहरुलाई उचित स्थानमा व्यवस्थापन गर्नको लागी यात्रुलाई सचेत गराउने उद्देश्यले नागरीक सचेतना कार्यक्रमको थालनी गरिएको अर्चने उपभोक्ता समितिका अध्यक्ष बिपिन अधिकारीले बताउनु भयो । भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि ‘हाम्रो धादिङ, राम्रो धादिङ’ बनाउनको लागी नदीनाला, धार्मिक क्षेत्र, सार्वजनिक स्थल, विद्यालयहरुमा प्लास्टीकजन्य वस्तुहरुको उचित व्यवस्थापन गर्दै अभियानलाई सफल बनाउन लागिएकोे समितिका संरक्षक राजन अधिकारीले बताउनुभयो ।

हाल धादिङ जिल्लाभित्र रहेको त्रिसुली नदी, अरुण खोला,थोपल खोला,आँसी खोला र नेत्रावती खोलाहरुमा दिन प्रतिदिन प्लास्टीकजन्य फोहोहरु थुप्रिदैँ गएको छ । यसको प्रत्यक्ष असर खेत बारीमा जम्मा भइ उत्पादनमा समेत कमी आउने गरेको छ । आगामी दिनहरुमा स्थानीय संघ–संस्थाहरुसँग हातेमालो गर्दै वातावरण संरक्षणको लागी वृक्षरोपण कार्यक्रम समेत गर्दै जाने आयोजक संस्थाले बताएको छ ।

धादिङ जिल्लाभित्र संचालनमा रहेका यात्रुवाहक बसहरुमा फोहोर राख्ने डस्बिनको उचित प्रयोग नभएको हुदाँ सबै बस व्यवसायी, चालक र सहचालकहरुलाई प्लास्टीकजन्य वस्तुहरु जम्मा गरी उचित ठाउँमा बिसर्जन गर्नको लागि आयोजकले अनुरोध गरेको छ । सचेतनामूलक कार्यक्रमको अवसरमा नागढुङ्गा देखी धादिङबेसी सम्म चल्ने यात्रुवाहक सवारी साधनका यात्रुहरुलाइ सन्देशमुलक प्रचा–पम्प्लेट वितरण गरिएको थियो ।

धादिङमा रहेको यातायात व्यवसायीहरु धादिङ मण्डली यातायात प्रा.ली., ग्रामीण यातायात सहकारी संस्था लिमिटेड, माइक्रोबस यातायात प्रा.ली. र ग्रामीण यातायात धादिङ प्रा.ली.,संयुक्त यातायात प्रा.लीका अध्यक्ष तथा व्यवस्थापकहरु सँग सरसफाई अभियान सम्बन्धी बृहत छलफल गरी अभियानलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सचेतनामुलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङ,ट्राफिक प्रहरी, धादिङ सोसियल भोलेन्टियर नेपाल, संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङ, धादिङ स्वास्थ्य समाजका प्रतिनिधिहरुको सहभागीता रहेको धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

१६ पुष २०७६, बुधबार १९:४२  मा प्रकाशित

Write your Comment